धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालन भएको बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि धादिङले जितेको छ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई सिधा सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। फाइनल खेलमा धादिङले पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–७ को फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो।
उपाधिसँगै धादिङले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको सिन्धुपाल्चोकले १ लाख रुपैयाँ हात पारेको छ। यस्तै तेस्रो स्थानका लागि भएको खेलमा रामेछापले नुवाकोटलाई पराजित गर्दै ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।
यस प्रतियोगितामा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक गरी ८ जिल्लाका ९ टोली सहभागी रहेका थिए।
धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) को सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।