मेलम्ची नगरपालिका द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि तेर्से मा.वि.लाई,दोस्रोमा इन्द्रेश्वरी

दिपक विक्रम देउजा


मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले उचालेको छ । गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा.वि.ले ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।


गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत र ७ कास्य सहित कुल २८ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने बालसुधार माध्यमिक विद्यालय दुवाचौरले ७ स्वर्ण र ३ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।


मेलम्ची नगरपालिका भित्रका २३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो। ।


समापन समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासन, प्रतिस्पर्धा र नेतृत्वको भावना विकास गर्न सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो ।  आगामी दिनमा उनीहरूलाई प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागिता जनाउन प्रेरणा मिल्ने बताउनुभयो ।


त्यसैगरी कार्यक्रमका सभापति तथा मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलका प्रधानाध्यापक दिनेश बस्नेतले विद्यालयस्तरमै खेलकुदको आधार तयार गर्न राष्ट्रपति रनिङ शिल्ड महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । प्रतियोगिताको सफल बनाउन महत्वपुर्ण भूमिका खेल्ने सहभागि विद्यालय शिक्षक, विद्यार्थी तथा सहयोगिहरुलाई धन्यवाद दिइएको थियो । समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्र,वडा नम्बर ६का अध्यक्ष प्रेमबहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया