नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत सिन्धुपाल्चोक २ का सबै ४९ वटै वडामा वडा स्तरीय निर्वाचन कार्यालय आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पार्टीले अब हरेक कार्यकर्ता मतदाताका घर–घर पुगेर एमालेमा मतदान गर्न आग्रह गर्ने अभियान तीव्र बनाउने जनाएको छ।
एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक हस्त बहादुर पण्डित अनुसार यसअघि नै भेला तथा प्रचार कार्यक्रममार्फत पार्टी केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक -२ का उम्मेदवार **शेरबहादुर तामाङ **लाई मतदान गर्न आग्रह गर्ने अभियान सुरु भइसकेको छ। उनले सबै वडामा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि वडा कार्यालयमार्फत समन्वय गरेर अघि बढाइने जानकारी दिए।
पण्डितका अनुसार प्रत्येक वडामा स्थापना गरिएका कार्यालयमा पार्टीका वडा कमिटी संयोजकसहित सम्बन्धित भूगोलमा रहने केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटी, जिल्ला र नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ। यसका साथै सम्बन्धित वडामा क्रियाशील जनसंगठनका पदाधिकारी तथा सदस्य, अगुवा कार्यकर्ता र विज्ञहरू समेत सहभागी भई दैनिक योजना तर्जुमा गरिनेछ।
वडा कार्यालयमार्फत घरदैलो अभियान, पार्टीका दैनिक कार्यक्रम सञ्चालन तथा वडा अन्तर्गत रहेका टोल कमिटीलाई सहजीकरण गर्ने काम गरिने जनाइएको छ। यसअघि नै ४९ वटै वडामा निर्वाचन परिचालन समिति गठन भइसकेको छ।
पार्टीका अनुसार वडा स्तरमा स्थापना गरिएका कार्यालयले त्यस क्षेत्रभित्र हुने पार्टीका सबै निर्वाचनसम्बन्धी गतिविधिको व्यवस्थापन गर्नेछन्। योजना निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्मको सम्पूर्ण जिम्मेवारी वडा कार्यालयमार्फत अघि बढाइने भएकाले सिन्धुपाल्चोक २ को एमालेको चुनावी अभियान थप सशक्त र संगठित हुने विश्वास पार्टीले व्यक्त गरेको छ।
यसअघि ५ वटै पालिकामा पालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियोे ।