पाल्चोकी माई - सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक एव्ं पर्यटकिय स्थल

दिपक विक्रम देउजा

पाल्चोकी माई मन्दिर सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो । पाल्चोकी माई मन्दिरलाई जय बागेश्वरी मन्दिरको नामले पनि चिनिन्छ । हेलम्बु गाउँपालिका वडा नं ३ पाल्चोकमा यो मन्दिर अवस्थित छ । हिन्दू धर्मवालबीहरुको पवित्र आस्थाको केन्द्र भएकाले प्रत्यक बर्ष यहाँ हजारौँको संख्यामा भक्तजनहरु जाने गरेको छ । सिन्धुपाल्चोक (एउटा डाँडा पाल्चोक र पालचोकी माई अर्को डाँडा सिन्धु र सिन्धु मन्दिर) "सिन्धु" र "पाल्चोक" मिलेर बनेकोमा पाल्चोक यसैबाट लिएको भनाईहरु छ । नेपालकै एक शक्तिशाली शक्ती पिठ हो, पाल्चोकी माई ।

परापुर्वकाल देखी राजामहाराजाबाटै पुजा आराधना हुने भएकाले पाल्चोकी माई मन्दिरको छुट्टै महत्त्व रहेको छ भने स्थानियहरु बताउँछन । धेरै पहिला देखिको किवदन्ती रहेकाले यो निकै पुरानो मन्दिर रहेको विश्वास गरिन्छ । पछिल्लो समय यहाँ सम्म पुग्न सडक, यातायात, खाना बस्न होटलहरु खोल्न थालेपछी पाल्चोक पर्यटकहरुको सदाबहार गन्तव्य बनेको छ ।

पाल्चोक हेलम्बु क्षेत्रको एउटा महत्त्वपुर्ण आकर्षणको केन्द्र हो । त्यस बाहेक यहाँका फाँट, प्राकृतिक वातावरण, मौलिकता पर्यटकहरुको लागी अर्को आकर्षणको केन्द्र रहेको छ । पाल्चोकमा अवस्थित जय बागेश्वरी मन्दिरको आफै एतिहासिक पाटोहरु रहेको छ । धार्मिक तथा पर्यटकिय दृष्टीले निकै महत्त्वपुर्व स्थान भएकाले स्थानिय निकाय पाल्चोकी माई मन्दिरको विकास र संरक्षणमा लागिपरेको छ ।

हेलम्बुबाट विभिन्न स्थान पुग्ने ट्रेकिङ मार्गको विकास, पाल्चोकी मन्दिर विकासको लागी गुरु योजना लगायतका कारण हेलम्बुको पर्यटनको केन्द्रमा पाल्चोकी माईलाई लिन सकिन्छ । यो मन्दिर समुन्द्र सतह देखी करिब १७५० उचाईमा अवस्थित छ ।

पाल्चोकी माईमा आएर इच्छ्याएको मनोकामना पुरा हुने भक्तजनहरुको विश्वास छ । मनोकामना पुरा भए फेरी भाकल बुझाउन भक्तजनहरु मन्दिर आउने गरेको छ ।

पाल्चोकी माईप्रती आस्था राख्ने भक्तजनहरु काठमाडौँ उपत्यका, नुवाकोट, काभ्रे,लगायतका स्थानबाट पुजा आराधना गर्न आउने गरेको छ । त्यस्तै हेलम्बु पुग्न पर्यटकहरु पनि पाल्चोकी माईको मन्दिरमा पुग्ने गरेको छ । सदाबहार रुपमा पुग्न सक्ने गन्तव्य भएकाले धेरै जसो समयमा यहाँ छिटफुट पर्यटकहरु पुग्ने गरेको छ ।

गुम्बा नै गुम्बाको सहर, शिव पार्वतीले मन पराएको गाउँ, पद्मसंभवले तपस्या गरेको स्थान, आमा याङ्ग्रीको भुमीमा चिट्टिक मिलेर बसेकी छिन, पाल्चोकी माई । आफ्नो भक्तजनहरुलाई आस्थावान बनाउन माईले हेलम्बुबाट पाइला चालेकी छैन । एउटै स्थानमा अडिएर रहेकी छिन, पाल्चोकी माई ।

कहिले कहिले मेला लाग्छ ?

पाल्चोकी माई मन्दिरमा विशेषगरी दशैँ, चैते दशै, जनै पूर्णिमा लगायतको चाडमा निकै ठुलो मेला लाग्ने गरेको छ । एकदशी, औंसी, रामनवमी, महाशिवरात्री, साउन महिनाभर, श्रीकृष्ण जन्माअष्टमी र दसैंको घटस्थापनादेखि अष्टमीसम्म पाल्चोक भगवतीको मन्दिरमा बली निषेध गरिएको छ । विशेष मेला लाग्ने समय बाहेक अहिले बाह्रै महिना विभिन्न स्थानहरुबाट पाल्चोकी जाने पर्यटकहरु बढ्दै गईरहेको छ । यहाँ विशेषगरी दशैँको नवमीका दिन भव्य र ठुलो मेला लाग्छ । अरु मन्दिरहरुमा भन्दा यहाँ पुजा गर्ने विधी फरक रहेको आउने पर्यटकहरु बताउँछन ।

पाल्चोकी उत्पत्तिको किबदन्ती

पाँचौ शताब्दी तिर पहिलो पटक मानव बस्ती बसाउने क्रममा अहिले मन्दिर भएको स्थानबाट जंगल फडानी र खन्दै जाँदा एकपट्टिबाट रगत बग्दै आएको र अर्को पट्टी खन्दा त्यहाँबाट दुध बग्दै आएको किबदन्ती छ । त्यस पश्चात स्थानियहरुले यहाँ देविदेवता रहेको अनुमान गरे र अनर्थ भयो भन्दै सरकारमा जहेरी दिए पछी दुई शिला प्राप्त भएको स्थानियहरुको भनाई छ ।

दाहिने तिर सुतेको अवस्थामा जागेश्वरी र देब्रो तिर उठेको अवस्थामा बागेश्वरी रहेकाले मन्दिरको नाम जय बागेश्वरी रहन गएको हो । त्यस्तै दुध बगेको स्थानमा शिव भगवान रहेको विश्वास गरी सिद्धेश्वर महादेवको मन्दिर स्थापित छ ।

Palchowki Mai Temple

रोचक पक्षहरु

एकदशी, औंसी, रामनवमी, महाशिवरात्री, साउन महिनाभर, श्रीकृष्ण जन्माअष्टमी र दसैंको घटस्थापनादेखि अष्टमीसम्म पाल्चोक भगवतीको मन्दिरमा बली निषेध गरिएको

जुद्ध शमशेरका श्रीमती विरामी भई पाल्चोकी मन्दिरमा देखाउन ल्याएको र यहाँका स्थानिय झाँक्रीले निको पारेपछी पाल्चोकी माई चर्चामा आएको

हरेक भक्तजनले एउटा मात्र मनोकामना इच्छ्याएमा त्यो मनोकामना पुरा हुने जनविश्वास

पाल्चोकी माई मन्दिरमा गिरी थरका व्यक्ती पुजारी हुने गरेको र नवमीमा खुलाल खड्काहरु द्वारा राँगाको बलि दिने चलन परापुर्वक कालदेखि नै चलेको छ

मन्दिर आसपास रहेको समुदाय तामाङ, गिरी, भुजेल र खड्काहरुले पाल्चोकी माईको नित्य पुजा आराधना, र संरक्षण गर्ने गरेको छन्न।

प्रतिक्रिया