मेलम्ची बढिबाट क्षेती भएको गैरआर्थिक हानी तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

दिपक विक्रम देउजा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालमा मेलम्ची इन्द्रवती खोलामा आएकाे विनाशकारी बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पारेको गैरआर्थिक हानी तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

कार्यक्रममा बाढीपछिका सामाजिक, सांस्कृतिक तथा मनोसामाजिक प्रभावहरू, तिनका दीर्घकालीन असरहरू र प्रभावित समुदायको पुनर्स्थापनाका उपाय विषयमा प्रस्तुत गरिएको थियो । साथै, हानी नोक्सानीका मूल्याङ्कनलाई राज्यका नीति, योजना र स्रोत व्यवस्थापनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि अध्ययनले ठोस सुझाव दिएको छ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै बाढीले भौतिक मात्र नभई सांस्कृतिक पहिचान, समुदायको आत्मबल, आपसी सम्बन्ध र सामूहिक स्मृतिमा गहिरो घाउ पुर्‍याएको निष्कर्ष प्रस्तुत गरे। उनीहरूले प्रभावग्रस्त समुदायका लागि मनोसामाजिक सहयोग र सांस्कृतिक पुनर्निर्माणलाई दीर्घकालीन पुनःस्थापना रणनीतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरु नगेन्द्रप्रसाद खतिवडा, प्रेमबहादुर तामाङ र अमृत खनाल, समाजसेवी तथा राजनीतिज्ञ बालकृष्ण देउजा,
ससस्त्र प्रहरीका डि एस पी राम थापा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक शुकदेव पौडेल ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमका सहभागीहरूले प्राकृतिक विपत्तिबाट हुने गैरआर्थिक क्षतिहरूलाई पनि नीतिगत मान्यता दिनुपर्ने, र त्यसका आधारमा स्थानीय, प्रादेशिक र संघीय तहमा पुनर्निर्माणको योजना बनाइनुपर्नेमा जोड दिएका थिए।
मेलम्ची र हेलम्बुका बासिन्दाहरूले भोगेका मनोसामाजिक चुनौतीहरूलाई दीर्घकालीन दृष्टीले सम्बोधन गर्न राज्य र नागरिक समाजबीच सहकार्य अनिवार्य रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ।

     

प्रतिक्रिया