मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा नगरप्रमुख आइतमान तामाङज्यूले अनुशासन खेलको गहना भएकाले खेलाडीहरू अनुशासित हुनुपर्नेमा जोड दिनुभएको छ। प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख तामाङज्यूले यस किसिमका प्रतियोगिता भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरूमध्येबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास समेत व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक दिनेश बस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा सामाजिक विकास समितिका संयोजक एवं वडाअध्यक्ष अमृत खनालज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो।
२४ वटा विद्यालयको सहभागिता रहेको उद्घाटन समारोहमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, निवर्तमान नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।