मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न नेपाल दूतावासलाई ज्ञापनपत्र

दिपक विक्रम देउजा

वाशिङटन डीसी, सेप्टेम्बर २०२५ — अमेरिकामा रहेका नेपाली नागरिक तथा अधिकारकर्मीहरूले वाशिङटन डीसीस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले नेपालमा मानवअधिकार उल्लंघन, शान्तिपूर्ण आन्दोलनमा भएको दमन तथा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत देखिएको गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल कारबाही गर्न माग गरेका छन्।


ज्ञापनपत्रमा नेपालको वर्तमान परिस्थितिले नागरिक हकअधिकार संकुचित भएको, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक अधिकार, र सामाजिक न्यायसम्बन्धी मूल्यहरू माथि खतरा उत्पन्न भएको उल्लेख छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपाल सरकार मानवअधिकार र लोकतान्त्रिक अभ्यासमा प्रतिबद्ध भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको आरोप लगाइएको छ।


मुख्य मागहरू:

१. शान्तिपूर्ण आन्दोलन र नागरिक अभिव्यक्तिमाथि भएको दमन तत्काल बन्द गर्न।

२. आन्दोलनमा संलग्न नागरिकलाई दमन वा मनमानी पक्राउ नगरी सम्मानजनक व्यवहार गर्न।

३. मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने ठोस कदम चाल्न।

४. अन्तर्राष्ट्रिय सन्धि तथा घोषणापत्रअनुसार नेपाल सरकारले जिम्मेवारी पूरा गर्न।


ज्ञापनपत्रमा उल्लेख भएअनुसार, सार्वभौम नेपाल राज्यले आफ्ना नागरिकमाथि हुने दमन, गैरन्यायपूर्ण व्यवहार, र मानवअधिकार हनन तत्काल रोकी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्य गर्नुपर्नेमा जोड दिइएको छ।


स्मरण रहोस्, संयुक्त राष्ट्रसंघीय सार्वभौम मानवअधिकार घोषणापत्र (UDHR), ICCPR, र CAT जस्ता सन्धिहरूमा हस्ताक्षरकर्ता देशको हैसियतले नेपालले मानवअधिकारको रक्षा गर्नु आफ्नो दायित्व भएको जनाइएको छ।


उक्त ज्ञापनपत्रमा प्रमुखत: दिनेश खतीवडा, डा. प्राशा खत्री, अभिमन्यु काफ्ले, सिताराम दुलाल, गौतम बिकलगायत नागरिक समाजका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। अधिकारकर्मी दिनेश खतीवडाले वर्तमान अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र मानवअधिकार रक्षा गर्न प्रवासी नेपालीहरूले पनि आवाज उठाउनु समयको आवश्यकता भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया